बागमती प्रदेश सांसद माझीद्वारा राप्रपा परित्याग

तु खबर संवाददाता
२०७९ भाद्र २७, सोमबार ०९:३२
file-photo

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिता माझीले पार्टी परित्याग गरेकी छन् । सांसद माझीले आइतबार एक विज्ञप्ती जारी राप्रपा छोडेको घोषणा गरेकी हुन् ।

माझीलाई राप्रपाले सामानुपातिकबाट प्रदेशसभा सदस्य बनाएको थियो । तत्कालीन राप्रपामा कमल थापा निकट मानिएकी रामेछाप निवासी माझीले अहिले मुलुकले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै राप्रपा वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने ढंगबाट अघि बढ्न नसकेको आरोप लगाएकी छन् ।

‘छरिएर रहेका सबै राष्ट्रवादी, देशभक्त प्रजातन्त्र प्रेमीहरूलाई समेटेर लैजान सक्ने सक्षम नेतृत्व मुलुकले खोजिरहेको छ । तर, दुर्भाग्य अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने ढंगबाट राप्रपा अघि बढ्न सकेन । साँघुरो सोच र व्यवहार, अंहकार, कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएका छन्,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले राप्रपा बाहिरबाट हेर्दा मोटाएको जस्तो देखिने तर भित्रभित्रै रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेकी छन् । ‘यो सबै घाम जत्तिकै छर्लङ्ग तथ्यलाई बुझेर पनि भावना शून्य, बिचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको छु,’ उनले भनिन् ।