मापसे गरेर ट्याक्सी चलाउने २ जना चालक पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार १७:१५
सांकेतिक तस्बिर

काठमाडौं । मदिरा सेवन गरेर भाडाको ट्याक्सी चलाउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौंको दुई छुट्टाछुट्टै स्थानबाट मदिरा सेवन गरी ट्याक्सी चलाउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बा २ ज ३३४१ नम्वरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार र बा २ ज ६५४ नम्वरको ट्याक्सी चालक ललितपुरको महानगरपालिका ९ बस्ने ४६ वर्षीय राजेन्द्र महर्जन रहेका छन् ।

प्रहरीले काठमाडौंको सुकेधाराबाट बा २ ज ३३४१ नम्वरको ट्याक्सी चालक सुनारलाई र काठमाडौंको कीर्तिपुरबाट बा २ ज ६५४ नम्बरको ट्याक्सी चालक महर्जनलाई पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई महाराजगंज वृत्त पठाइएको छ भने महर्जनलाई प्रहरी वृत्त कीर्तिपुर बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरूलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको छ ।

सार्वजनिक सवारी साधनका चालकहरूले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तीव्रता दिइएको समेत जनाइएको छ ।