एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउने माधव नेपालको दाबी

तु खबर संवाददाता
२०७९ भाद्र १८, शनिबार १७:०५
file-photo

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने दाबी गरेका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अधयक्ष नेपालले सो कुरा बताएका हुन् ।

उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने । नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ ।

उनले आफ्नो पार्टीको अहिलेको स्थान सुरक्षित गर्न लाग्नुपर्नेमा कार्यकर्तालाई आग्रह गरे । ‘सबै आ–आफ्नो ठाउँबाट लाग्नुहोस्, अहिले हाम्रो पार्टी चौथो स्थानमा छ । आगामी निर्वाचनबाट पनि त्यो सिट कायम राख्नुपर्नेछ,’ नेपालले भने । नेपालले चुनावी गठबन्धन बाहेक तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने अहिले कुनै सम्भावना नरहेको बताए । तर, छलफल र बहस भने भइरहेको उनको भनाइ छ ।

माओवादीसँग चुनाव अगाडि नै एकता हुने भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । उनले कुनै पार्टीमा गएर आफ्नो विलिन नहुने बरु कुनै पार्टी आफ्नो पार्टीसँग आएर विलिन हुने दाबी पनि गरे । ‘हाम्रो पार्टी बिलिन हुने होइन, हाम्रो पार्टीमा अरु आए विलिन हुन्छन्, तर, हामीले नयाँ पार्टी बनाउने छलफल गरेका हौं ।’