भदौ २१ गतभित्र उम्मेदवार सिफारिस गर्न राप्रपा नेपालको निर्देशन

तु खबर संवाददाता
२०७९ भाद्र १७, शुक्रबार ०९:५७
file-photo

काठमाडौं । राप्रपा नेपालले भदौ २१ गतेभित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गर्न निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्वाचनको लागि उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको हो ।

बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ । साथै महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेचीऔमहाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ ।

कार्यक्रम अनुसार मेचीको काकडभिट्टाबाट भदौ ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं फर्किएर यात्राको समापन हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

साथै बैठकले विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरुसँग आवश्यक छलफल, परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवम् राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय गरेको महामन्त्री बर्तौलाले बताए।