स्व. गिरीको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरीको १३ औं दिनको पुण्यतिथिमा कांग्रेस मकवानपुरले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बिहीबार कांग्रेस पार्टी कार्यालय हेटौंडामा सभाको आयोजना गरिएको हो ।
कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायतको अध्यक्षता एवम् कांग्रेसका निवर्तमान कार्यबाहक सभापति बिष्णु लामिछाने, पूर्व सभापति माइकल रामचन्द्र अर्यालको विशेष उपस्थितीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
सभाका वक्ताहरुले पदको कहिल्यै लोभ नगर्ने, समाजवादी चिन्तनलाई अगाडी बढाउन भूमिका निर्वाह गर्ने, तटस्थ विचार भएका तथा सादगी जीवन बिताएका गिरीबाट कांग्रेस नेता कार्यकर्ताले धेरै सिक्नुपर्नेमा जोड दिए । उनको निधनले कांग्रेस मात्र नभई मुलुकलाई नै अपुरणीय क्षति भएको नेताहरुको भनाई थियो । उनले देखाएको बाटोमा हिँड्नु अपरिहार्य रहेको वक्ताहरुको सुझाव थियो ।
सभामा कांग्रेस मकवानपुर सचिव भीमसेन महत, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रवक्ता सविन न्यौपाने, सहसचिव ईन्दिरा न्यौपाने, जिल्ला सदस्य तारा कार्की राईसहित नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । नेता गिरीको भदौ ४ गते शनिबार उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।
