व्यापारीलाई पछ्याएर ९ लाख चोरी गर्ने पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलस्थित गल्कोपाखामा एक जना व्यापारीलाई पछ्याएर नगद ९ लाख ५२ हजार रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पत्राउ गरेको छ । होटल व्यवसाय गर्ने व्यापारीलाई पछ्याएका आरोपीले घर पुगेर पैसा राखेपछि किचनबाट प्रवेश गरेर नगद चोरेर भागेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भएर काठमाडौंको डल्लु बस्ने ४२ वर्षीय बुद्धि तामाङ रहेका छन् । भदौ १३ मा राति साढे ३ बजे चोरेर भागेको १ घण्टापछि आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार, उनी व्यवसायीक चोर हुन् । आरोपीले ब्यापारीले होटल बन्द गरेर संकलित पैसा घर लाने गरेको पत्ता लगाएर घरमा पसेको प्रहरीको भनाइ छ । तर, आरोपीले भने आफुले व्यापारीलाई नपपछ्याएको प्रहरी समक्ष बयान दिएका छन् । उनले भनेका छन्, ‘पछ्याएको थिइँन्, त्यतिकै छिर्दा ठुलो परिमाणमा नगद भेटियो ।’
घरधनीले थाहा पाएर हल्ला गरेपछि उनी ३ तला माथिबाट हामफालेर भागेका थिए । आरोपीबिरुद्ध चोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
