मतदाता नामावली प्रकाशन आज
काठमाडौं । आगामी मंसि ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् ।
नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवम् कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउनका लागि यही भदौ १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ । आयोगले यसअघि नै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने निर्णय गरिसकेको छ ।
आगामी मंसिर ३ गतेभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ ।
