मृत व्यक्तिलाई जीवित बनाउने भनिएका पास्टर पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र ६, सोमबार १६:५६
सांकेतिक तस्बिर

रुपन्देही । मृत व्यक्तिलाई जीवित बनाउने भनिएका एक जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । प्रहरीले होली क्यालोरी चर्च बुटवलका पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको हो ।

आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको जनाइएको छ । भाइरल भएको उक्त भिडियोमा एक महिला भुइँमा सुतेको देखिन्छ र केही बेरमै ती महिलालाई उठेर सरासर हिँडेको देखिन्छ ।