आजबाट ५० जिल्लाका बालबालिकालाई फाइजर खोप

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १०:२५

काठमाडौं । आजबाट ५० जिल्लाका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, दोस्रो चरणमा आज भदौं ५ गतेदेखि ११ गतेसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।

आजबाट प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, मधेश प्रदेशका बारा, रौतहट र सर्लाही तथा बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदैछ ।

त्यसैगरी, गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा र तनहुँ तथा लुम्बनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व जिल्लाका बालबालिकालाई पनि कोभिडविरद्धको खोप दिन लागिएको छ ।

कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि २७ जिल्लाका बालबालिकाहरुलाई सरकारले फाइजर खोप दिएको थियो ।