सुन व्यापारीलाई ‘हनी ट्रयाप’ मा फसाएको आरोपमा चार महिलासहित ५ जना पक्राउ
दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एक जना पुरुषसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१० बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली, २२ वर्षीया शर्मिला नेपाली र रोल्पा घर भएका ४० वर्षीय दिलिप कुमार वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार, आरोपीहरुले ट्रयापमा पारेपछि ब्यापारीलाई घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा लगेर १ लाख नगद र ११ लाख बराबरको चेक लिएर छाडेका थिए । गत साउन २७ मा पक्राउ गरेर उनीहरुलाई अपराधी लाभ लिन नहुने कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । योजनामा संलग्न अरु २ जना फरार छन् ।
