हेटौंडा–२ स्थित सहकारी संचालक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा संचालक समितका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा– ८ का ३२ वर्षीय राजीव तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बचत कर्ताको रकम माग गरिएको समयमा फिर्ता नगरिएको भन्दै दर्जनौ बचतकर्ताहरुले सहकारीको पासबुकसहित उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुविरुद्ध बचकर्ताहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी संचालकविरुद्ध साउन २४ गते संयुक्त जाहेरी दखास्त दिएका थिए । उनीहरूले आफूहरूको पैसा हिनामिना गरेको र फिर्ता गर्न माग गर्दा नदिएको भन्दै सहकारी सञ्चालक समितका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दर्ता गराएका थिए ।
सोही उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । उजुरी परेपछि सहकारी संचालकले बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै साउन २० मा सटही हुने गरी सहकारीको कर्मचारीहरूको नाममा लाखौँ रकमको चेकसमेत काटेको थियो ।
सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहकरदेविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बाँनियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो ।
तर, गएको साउन २०मा चेक सटही नभएपछि बचतकर्ताहरूले साउन २४ मा सहकारी संचालक समितिका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दरखास्त दिएका थिए । उजुरी परेपछि प्रहरीले साउन ३१ गत अर्थात मंगलबार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
