मंसिर ३ गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

तु खबर संवाददाता
२०७९ श्रावण २९, आईतवार १८:५६

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले भोट हाल्न पाउने निर्णय गरेको हो । आयोगले आम निर्वाचनमा साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले भोट हाल्न पाउने गरी ‘कट अफ डेट’ निर्धारण गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार एक विज्ञप्तिमा जारी गरी सोबारे जानकारी गराएका हुन् । ‘मिति २०७९/०४/१९ (निर्वाचन घोषणा भएको दिन) सम्म मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये मिति २०७९/०८/०३ सम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएकाले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।