भदौदेखि अनावश्यक कुनै पनि शुल्क नतिर्न ट्रक चालक कमिटीको आग्रह
मकवानपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ट्रक चालक कमिटीले देशभर रहेका मालबाहक ट्रक चालकहरुलाई आगामी भदौ १ गतेदेखि अनावश्यक कुनै पनि शुल्क नतिर्न आग्रह गरेको छ ।
कमिटीले बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी मालबाहक ट्रकहरुमा व्यवसायीहरुले सामान लोड अनलोड गर्दा अनावश्यक विभिन्न नामका शुल्क लिने गरेको भन्दै उक्त शुल्क नतिर्न आग्रह गरेको हो ।
कमिटीका मकवानपुर अध्यक्ष नवराज कार्कीले देशको विभिन्न शहरहरुमा सामान लोड अपलोड गर्दा व्यसायीहरुले विना रसिद ढाला खर्च, चलानी खर्च, गद्दी खर्च, मुन्सी खर्च लिने गरेको भन्दै उक्त रकम भुक्तानी नगर्न आग्रह गरेका हुन् । उनले लाग्ने भाडाको टिडिएस काट्दा बिल नपाईएको भन्दै उक्त बिल पाउनुपर्ने माग समेत गरे ।
‘ट्रकमा सामान ढुवानी गर्दा लाग्ने ढुवानी शुल्कबाट २.५ प्रतिशत टिडिएस बापत कर भनेर लिने गरिएको भएपनि रकम बुझाएबापत भुक्तानी रसिद समेत नदिँदा वर्षौदेखि अनियमितता भएको छ । अध्यक्ष कार्कीले भने व्यवसायी, स्वारोजगार श्रमिक तथा श्रमिकहरुमाथि आर्थिक शोषण हुँदै आईरहेकाले त्यस्ता कार्य तत्काल रोक्न सरकारसंग अपिल गर्दछौँ ।’
अध्यक्ष कार्कीले स्वरोजगार व्यवसायी, चालक, सहचालहहरुलाई विभिन्न कल कारखाना तथा उद्योगहरुमा अनावश्यक कामहरु लगाउने गरेको र तुच्छ व्यवहार हुने गरेको भन्दै उक्त कार्य बन्द गर्न पनि अनुरोध गरे ।
उनले यात्राका क्रममा मालबाहक ट्रक चालक तथा सहचालकहरुसँग आर्थिक असुल गर्ने, डर, धम्की दिने, कुटपिट गर्ने, ट्राफिक प्रहरी तथा प्रशासनबाट अनावश्यक झमेला गर्ने कामहरु भइरहेको भन्दै त्यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन् ।
यसैगरी, ट्रक चालक कमिटीले मालवाहक सवारीसाधनमा काम गर्ने चालक, सहचालक तथा प्रालीहरुमा काम गर्ने कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकरण गर्न पनि सरकारसँग माग गरेको छ । अध्यक्ष कार्कीले श्रमिकहरुबाट विभिन्न शिर्षकमा खुलेआम आर्थिक शोषण हुने गरेको बताउँदै श्रमिक र स्वारोजगार श्रमिक तथा लगानीकर्ताहरुको भविष्य अनिश्चित बनेको बताए ।
उनले भारतबाट नेपाल आयात गरिने समानहरु नेपाली भू–भागका कुनाकुना स्थानसम्म भारतीय ट्रकहरुले निर्वाध रुपमा ढुवानी गरिरहेकाले नेपालका मालबाहक ट्रक व्यवसायी, स्वरोजगार र श्रमिकहरुलाई गम्भिर असर पुगेको समेत बताए । उनले यसलाई पूर्ण रुपमा नियन्त्रण नगरिए नेपाली लगानी विस्थापित हुने र श्रमिकहरुको रोजगारीमा गम्भिर असर पर्ने बताए ।
उनले श्रमिक चालकहरुका साझा समस्याहरुलाई सम्बोधनका लागि सरकारसँग आग्रह गर्दै मागहरुलाई सम्बोधन नगरी देशभरका श्रमिकहरु चरणबद्ध रुपमा संघर्षमा जाने चेतावनी समेत दिए ।
