मकवानपुर क्याम्पसलाई विद्यार्थी संगठनको संयुक्त ध्यानाकर्षण पत्र

तु खबर संवाददाता
२०७९ श्रावण १९,बिहीबार ०९:४९

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति बुझाएको छ । विगत लामो समयदेखि स्थायी नियुक्ति भई अध्यापन गर्दै आएका शिक्षकहरुको मनोमानीविरुद्ध संगठनले संयुक्त रुपमा बुधबार सहायक क्याम्पस प्रमुख रामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ।

उक्त विज्ञप्तिमा क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुको निरन्तर पढाईमा असर पुग्ने गरी क्याम्पसमा स्थायी रुपमा नियुक्ति भएका शिक्षकहरु क्याम्पसको नियम अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म शिक्षण नगरी बिचको समयमा निस्केर जाने विषयप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

यस्तै, विज्ञप्तिमा कुनै एक निकायमा स्थायी नियुक्ति लिएको कर्मचारीलाई क्याम्पसमा स्थायी गर्न नमिल्ने हुँदाहुँदै पनि मकवानपुर बहुमुखी क्याम्पसमा उक्त कार्य हुँदै आएको भन्ने जानकारी प्राप्त भएकोले सो कुरा सत्य हो भने उक्त शिक्षकहरु प्रति छानबिन गरी प्रचलित नियम कानुन बमोजिम उपयुक्त कारबाही गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेको छ । यदी उक्त विषयलाई क्याम्पस प्रशासनले नजर अन्दाज गरी उपयुक्त छानबिन नगरिएको खण्डमा संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पसका संयोजक सुबास तामाङ, अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष छोइसाङ लामा (स्याङ्तान), नेवि संघ मकवानपुर बहुमुखी क्याम्पसका सभापति सन्तोष चौलागाईं र अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष विश्वास पराजुलीको हस्ताक्षर रहेको छ ।