घरभेटीलाई नशालु केक खुवाएर लुटपाट गर्ने २ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलमा ‘वर्थ डे केक’ मा नशालु पदार्थ मिसाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीय सन्तोष पाण्डेयको परिवारका पाँच जनालाई केकमा नशालु पदार्थ मिसाइ खुवाएको र बेहोस भएपछि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । विसं २०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुबै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । केक खाएपछि परिवारका सबै जना बेहोस भएपछि उनीहरूले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए ।
सोमबार लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याएर आवश्यक अनुसन्धन भइरहेको जनाएको छ ।
