थप ४३८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
मकवानपुर । नेपालमा थप ४३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६९९ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २९२ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनको सङ्ख्या ११ हजार ९६६ पुगेको छ । त्यस्तै, २७७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार ३६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
