विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
काठमाडौं । ललितपुर, नवलपरासी (पूर्व), महोत्तरी र पर्सामा चार जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु सिद्धिपुर बस्ने सर्लाही घर भएकी ४२ वर्षीया जमुना तामाङ आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै, नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित नारायणी नदी किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको औरही नगरपालिका–७ भोईलस्थित सडकमा रहेको पोखरीमा हाल पहिचान नखुलेका करिब ४३ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ वीरगञ्ज भन्सारको कम्पाउण्डभित्र हाल पहिचान नखुलेका करिब २२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
