थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने
काठमाडौं। निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । आयोगले आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत असार २९ गतेदेखि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको छ । चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि यो व्यवस्था मिलाइएपछि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने जिल्लाहरुको संख्या आठ पुगेको छ ।
अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, नागरिकता लगायतका परिचय पत्रसहित फोटो खिचाउन र औंठा छाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरुले भने फेरि नाम लेखाउन नपर्ने निर्वाचन आयोगले जनाएको छ ।
आफ्नो नाम, थर, लिंग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटी भएको भए यही बेला त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ । साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगले जनाएको छ ।
