जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । प्रहरीले चितवन भरतपुर नगरपालिका–१५ पिठुवाबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाल रहेका छन् ।
उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले शुक्रबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति वापत भराई दिने ठहर भई फरार रहेका थिए ।
चितवन साविक गोरखा नगरपालिका–९ छेपेटारस्थित तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ढकालले मादक पदार्थ सेवन गरी पीडित महिलाको घरमा कोही नभएको मौका छोपी २०६९ चैत ३ गते दिउँसो जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।
