अग्रज पत्रकार परियार सम्मानित
मकवानपुर । राष्ट्रिय समाचार समिति मकवानपुरका समाचारदाता एवम् अग्रज पत्रकार कृष्णराम परियारलाई आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार नगद ७ हजार ७७७ रुपैयाँसहित सम्मान गरेको छ । ४३ वर्षदेखि पत्रकारितामा क्रियाशील परियारलाई इश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०७८ प्रदान गरिएको हो ।
त्यस्तै नेपाली लेखक संघका केन्द्रीय सदस्य छवि अनित्यलाई नगद १० हजार राशीको सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८ प्रदान गरिएको छ ।
पुञ्जले साहित्यकारहरु क्रमश जनार्दन खनाल, तीर्थदेवी शिलवाल, सरिता तिवारी, देवराज खरेल, प्रशन्ना चौलागाईं, भूषिता वशिष्ट, चित्रकार ऋत्विक के.बि.र मकवानपुरकी प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई नगद राशीसहित सम्मान गरेको हो ।
पुञ्जकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा साहित्यकारहरु निमेश निखिल, आरसी रिजाल, गायिका शुसिला पाण्डे मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
