पारिजात स्मृति सम्मान मास्केलाई प्रदान

तु खबर संवाददाता
२०८१ बैशाख ५,बुधबार १८:१४

मकवानपुर । पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम् स्वास्थ्य सेवी डा. महेश मास्केलाई प्रदान गरिएको हो ।

३१ औं पारिजात स्मृति दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमबीच साहित्यकार मास्केलाई पारिजात स्मृति सम्मान प्रदान गरिएको हो ।

मास्केलाई १५ हजार पाँच सय ५५ रुपैयाँ राशीको सम्मान प्रदान गरिएको हो । उक्त रकम साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाले हेटौंडा–१० नम्बर वडा कार्यालयसँगको सहकार्यमा उपलब्ध गराएको हो ।

डा.मास्के पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष, चीनका लागि नेपालका पूर्व राजदूतसमेत हुन् ।

सो क्रममा पारिजात स्मृति सम्मान ग्रहण गर्दै डा. मास्केले आफूले सम्मान बापत प्राप्त गरेको नगद १५ हजार पाँच सय ५५ रुपैयाँमा त्यति नै रकम थपेर साहित्य सङ्गमले निर्माण गर्दै गरेको अक्षयकोषमा सहयोग प्रदान गरेका थिए ।

स्मृति दिवसको अवसरमा हेटौंडा बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण पनि गरिएको थियो । । सो क्रममा भवानी तिमल्सिना र रजनी पौडेलले पारिजातका कविता वाचन गरेका थिए ।

कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा, सङ्गमका अध्यक्ष डिबी बर्तौला, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतको आतिथ्यता रहेको थियो ।