माओवादी केन्द्रको बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ । प्रज्ञा भवन कमलादीमा आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने र समापन गर्ने कार्यसूची रहेको थियो ।
असार १९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज/अध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए ।
