बालबालिकाका लागि थप २३ लाख खोप काठमाडौं आइपुग्यो

तु खबर संवाददाता
२०७९ असार १९, आईतवार १५:०४

काठमाडौं । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको थप २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार, खोप अभियान सञ्चालन गरिएका २७ जिल्ला पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई सो खोप दिइनेछ । बाँकी दोस्रो मात्राका लागि राखिनेछ ।

यसअघि कोभ्याक्स सुविधामार्फत २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आएको थियो । ५ देखि ११ बर्षसम्मका ३९ लाख बालबालिकालाई ८४ लाख डोज कोभ्याक्स सुविधामार्फत नेपाललाई चार पटक गरी उपलब्ध गराउने छ ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।