बाराबाट पक्राउ परे मकवानपुरका युवक

तु खबर संवाददाता
२०७९ असार १०,शुक्रबार १८:०९
सांकेतिक तस्बिर

बारा । बारा प्रहरीले लागूऔषधसहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्वर ३ बस्ने ३३ वर्षीय लाल काजी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

काजीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बाराको निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी गाँजासहित पक्राउ गरेको हो । बिहीबार साँझ प्र.३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त मोटरसाइकल चालक काजीले बोकेको झोला खानतलासी गर्दा गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त मोटरसाइकलमा सवार (हाल पहिचान नखुलेको) महिला भने बोकेको झोला जंगलतर्फ फोलेर फरार भएका छन् । ती महिलाले बोकेको झोला र काजीले बोकेको झोला चेक गर्दा सो परिमाणको लागूऔषध बरामद भएको हो ।

फरार महिलाको खोजी कार्य हुनुका साथै पक्राउ परेका काजीमाथि आवश्यक अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ ।