हेटौंडा नगरसभा बैठक स्थगित

तु खबर संवाददाता
२०७९ असार १०,शुक्रबार १५:११

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा स्थगित भएको छ । नेकपा एमालेले बहिष्कार गरेपछि असार १२ गतेसम्ममा स्थगित भएको हो । नगरसभामा गणपुरक संख्या नपुगेकाले आज हुने भनिएको नगरसभा स्थगित भएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी १२ गते १ बजेका लागि नगरसभा आह्वान गरेकी हुन् । हेटौंडा उपमहानगरपालिकाको नगरसभा कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

नगरसभामा गठबन्धनका सदस्यहरु उपस्थित भएका थिए भने एमालेका सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिए । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकमा बैठक सञ्चालनको कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि सहमति नजुटेपछि बैठक बहिष्कार गरेका थिए ।