अनेरास्ववियु क्रान्तिकारीद्वारा नगर प्रमुख लामालाई ज्ञापनपत्र

तु खबर संवाददाता
२०७९ असार ८,बुधबार १८:०५

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले निः शुल्क शिक्षा लागू गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्र अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान र उपाध्यक्ष सुर्यबहादुर गोलेको नेतृत्वको टोलीले हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा पुगेर नगर मीना कुमारी लामालाई बुझाएका हुन् ।

उक्त ज्ञापनपत्रमा सामुदायिक र निजि विद्यालयको नाममा भैरहेको विभेदकारी शिक्षालाई समान शिक्षाको रुपमा लागू गर्नु राज्यको दायित्व भएता पनि राज्य सञ्चालकहरुले त्यसको दायित्वबोध नगरेको उल्लेख गरिएको छ ।

त्यस्तै, नेपालको संविधान २०७२ को भाग २ अन्तर्गत धारा ३१ को उपधारा २ मा उल्लेख गरे अनुसार, आधारभूत तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षा लागू गर्न समेत जोड्दार माग गरेको छ । संविधानमै व्यवस्था गरेको शैक्षिक अधिकार तत्काल लागू गर्न, गराउन पहल नगरे अखिल (क्रान्तिकारी) कडा संघर्षमा उत्रिन बाध्य हुने कुरा समेत ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

साथै दिनप्रतिदिन पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि घटाउन र अन्य उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धिको असर न्यूनीकरण गर्न तत्काल पहल गर्न पनि ज्ञापनपत्र मार्फत उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।