पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन
मकवानपुर । पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालनमा आएको छ । पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनः संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र भञ्ज्याङमा गत मंगलबार वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा झण्डै एक हप्तापश्चात आइतबारदेखि दुबैतर्फी रुपमा यातायात संचालनमा आएको हो ।
हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस्तै, पहिरोकै कारण केहीदिनदेखि अवरुद्ध कान्तिराजपथ सडकखण्डमा पनि आजबाट यातायात संचालनमा आएको छ । विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध सडकखण्डमा आज बिहानदेखि यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको ।
