जिसस मकवानपुरको मतदान आज

तु खबर संवाददाता
२०७९ असार २,बिहीबार ०८:४०

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको मतदान आज (बिहीबार) हुँदैछ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

आज बिहान १० बजेदेखि २ बजेसम्म मतदान कार्यक्रमको लागि समय तोकेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार, मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ लाई मतदान केन्द्र तोकिएको छ ।

आज जिसस प्रमुख, महिला सदस्य र खुल्ला सदस्य गरी ७ जना पदाधिकारीको लागि मात्रै निर्वाचन हुनेछ । जसमा एक प्रमुखका लागि २ जना, ३ महिला सदस्यका लागि ४ जना र ३ खुल्ला सदस्यका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । जिसस प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादीका ललितबहादुर घलान र नेकपा एमालेको तर्फबाट बुद्धिराम डिम्डुङले उम्मेदवारी दिएका हुन् ।

जिसस उपप्रमुख र दलित तथा अल्पसंख्यक सदस्य भने निर्बिरोध निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सानुकाजी लुइँटेल र नेकपा एकीकृत समाजवादीकी सुनिता परियार निर्बिरोध निर्वाचित भएका हुन् ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरापलिका र ८ वटा पालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । जसमा नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका ७, नेकपा एमालेका ३ र एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।