जिसस मकवानपुर : आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने

तु खबर संवाददाता
२०७९ असार १,बुधबार १०:३९

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।

यस्तै, असार २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान कार्यक्रमको लागि समय तय गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा २ लाई मतदान केन्द्र तोकिएको छ ।

जिसस निर्वाचनअन्तर्गत सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख/उपप्रमुख र ७ सदस्यका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुख पदमा २ जना, उपप्रमुखमा १ जना, महिला सदस्यमा ४ जना, दलित तथा अल्पसंख्यक सदस्यमा १ जना र खुल्ला सदस्यमा ४ जनाले मनोनयन दर्ता गराएका हुन् ।

जिसस प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादीका ललितबहादुर घलान र नेकपा एमालेको तर्फबाट बुद्धिराम डिम्डुङले मनोनयन दर्ता गरेका हुन् । यस्तै, उप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सानुकाजी लुइँटेलले मनोनयन दर्ता गराएका हुन् । उपप्रमुख पदमा एमालेले भने मनोनयन दर्ता गराएको छैन ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरापलिका र ८ वटा पालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । जसमा नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका ७, नेकपा एमालेका ३ र एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।