निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन गर्ने

तु खबर संवाददाता
२०७९ असार १, बुधबार ०८:३४

काठमाडौं । निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन कार्य सुरु गर्ने भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएसँगै स्थगित भएको मतदाता नामावली संकलन कार्य आजबाट पुनः सुरु हुने भएको हो ।

पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार, आजबाट मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मितिलगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि पनि सच्याउनेछ ।