होटेलको छतबाट खसेर युवकको मृत्यु
रुपन्देही । रुपन्देहीको भैरहवामा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ बर्षीय अमित यादव रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, यादवको भैरहवा बसपार्कमा रहेको होटल सि प्रिन्सको छतबाट खसेर मृत्यु भएको हो । यादव शनिबार बिहान मृत फेला परेका थिए । ती युवक साथीहरुसहित त्यस होटलमा बस्न आएका थिए । होटल चार तले छ । कुन तलाबाट उनी खसे भन्ने खुलेको छैन ।
होटल मालिकले केही पैसा पनि हराएको र उनी चोरेर भाग्ने क्रममा छतबाट खसेर मृत्यु भएको जनाएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
