बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा हेटौंडाका घलान पक्राउ
चितवन । चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २७ वर्षीया युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ चौधघरे बस्ने ४५ वर्षीय पूर्ण घलानलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, घलानले राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घर (कटेरो)मा राखेर ती युवतीलाई दुई महिनादेखि बन्धक बनाएका थिए । काठमाडौं बसेर ज्याला मजदुरी गर्दै आइरहेकी पीडित युवती चैत्र १० मा भाउजुको घर पिप्ले आएकी थिइन् । बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगेका थिए । सोही दिन राती घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले दिएको जाहेरीमा उल्लेख छ ।
बन्धक बनाइएकी युवतीको स्वास्थ्यमा समस्या देखिएपछि घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उनकी भाउजुले बताएकी छिन् । महिलाले जेठ २४ गते घलानविरुद्ध किटानी जाहेरी दिएपछि जबरजस्ती करणीको मुद्दा दर्ता गरी घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
