चार दिनदेखि बेपत्ता बालिकाको शव फेला, एक जना पक्राउ
सुर्खेत । सुर्खेतमा चार दिनदेखि बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीया बालिका ग्रीस्मा विकको शव फेला परेकी हुन् । बालिकाको शव मकै बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार, नेपाली कांग्रेसको वडा नम्वर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन बेपत्ता भएको जानकारी आफन्तले गराएको थियो । उनको खोजीकार्य गर्ने क्रममा घरदेखि एक सय मिटरको दुरीमा मंगलबार बिहान शव फेला परेको हो ।
आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको थियो । बालिकाको मृत्युको कारण नखुलेपछि घटनामा संलग्न भएको आशंका प्रहरीले एक जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।
