साहित्य संगम मकवानपुरद्वारा चार स्रष्टा सम्मानित

तु खबर संवाददाता
२०७९ जेष्ठ २३,सोमबार ०९:३८

मकवानपुर । साहित्य संगम मकवानपुरले चार जना स्रष्टालाई सम्मान गरेको छ । संगमले आइतबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारबाट स्रष्टालाई सम्मान गरेको हो ।

संगमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई सम्मानित गरेको छ । रिमालका परिवारले स्थापना गरेको उक्त सम्मानसहित श्रेष्ठलाई नगद २० हजार एक रुपैयाँ प्रदान गरिएको थियो ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को कार्यालयले प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ बाट साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको थियो ।

यस्तै, हास्यव्यङ्ग्यकार डा.गणेशकुमार पौडेलले स्थापना गरेको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ बाट क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई जनही १० हजार एक रुपैयाँसहित सम्मानित भएका हुन् ।

कार्यक्रम साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा हास्यव्याङ्ग्यकार आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, कार्यक्रममा साहित्यकार नागेन्द्रराज शर्मा, पावन आलोक, रामप्रसाद पन्तले साहित्य संगमले सञ्चालन गरेको पुष्पलाल स्मृति पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका थिए । साहित्यकारत्रयले पुस्तक संगमकी अध्यक्ष अनिता न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

साहित्यकार पवन आलोक, रामजीप्रसाद पोखरेल, रामप्रसाद पन्त, शंकर भारती, देविकानन्द तिमल्सिना, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, प्रलेश मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, झरनाका अध्यक्ष दीपक गौतम, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्यकार देवराज खरेल, हृदय रोग निवार प्रतिष्ठान मकवानपुरका सभापति हरिवंश भेटवाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, सुर्दशन फाउण्डेशनका अध्यक्ष सुर्दशन अधिकारीलगायतको सहभागिता रहेको थियो ।