देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी छ : मुख्यमन्त्री पाण्डे

तु खबर संवाददाता
२०७९ जेष्ठ २०,शुक्रबार १७:३१
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेशसभामा नीजि क्षेत्र र सरकार प्रतिस्पधीको रुपमा नभएको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार रहेको बताए । उनले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा काम गर्न सक्ने बताउँदै उद्योग पाठशाला खोल्न उद्योगीहरुलाई आग्रह गरे । उनले भने, ‘उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार निकाल्न जरुरी छ ।’

उनले चितवन उद्योग वाणिज्य संघलाई उद्योग पाठशाला खोल्न १० लाख रुपैयाँ सहयोग गरिसकेको जानकारी दिए । स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न सदैव तयार रहेको उनको भनाई छ ।

उनले उद्योग मैत्री वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको बताए । मुख्यमन्त्री पाण्डेले संघीय सरकार मातहत रहेका प्रदेशभित्रका चारवटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘औद्योगिक क्षेत्रलाई प्रदेश मातहतमा ल्याएर उत्पादनमूलक उद्योग खोल्ने वातावरण तयारी गर्न जरुरी छ ।’

उनले हेटौंडाको मयुधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षको लागि बजेट बनाउने कार्य जारी रहेको बताउँदै उद्योग क्षेत्रको समस्याहरु समाधान गर्नेमा विश्वस्त रहन आग्रह गरे ।