छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १०:०७
सांकेतिक तस्वीर

बैतडी । छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार, पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, जिल्लाको सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । दुबै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।