सिमल्टारका भूमिहिनलाई लालपूर्जा दिन नापजाँच सुरु

तु खबर संवाददाता
२०७९ जेष्ठ १८,बुधबार १९:५२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ११ सिमल्टारमा सरकारले जग्गा नापजाँच सुरु गरेको छ । सिमल्टार टोल विकास संस्थामा रहेको ऐलानी जग्गा त्यहाँका भूमिहिन, अव्यवस्थित बसोबासी तथा सुकुम्वासीहरुलाई प्रदान गर्ने उद्देश्यका साथ सरकारले मंगलबारबाट नापजाँच सुरु गरेको हो ।

नापी कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका र राष्ट्रिय भूमि व्यवस्था आयोग मकवानपुर र स्थानीय जनप्रतिनिधिसमेतको सहभागितामा अगुवाइमा जग्गाको नापजाँच सुरु गरिसकेपछि स्थानीयवासी लालपूर्जा पाउने आशामा हर्षित भएका छन् ।

विगत केही वर्षदेखि नापी हुने कुरा चलेको भएपनि अहिलेसम्म सो कार्य अघि बढ्न सकेको थिएन ।स्थानीय राजनीतिक दल र सरकारको पहलमा नापी सुरु भएको सिमल्टार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर तु खबरलाई जानकारी दिए ।

पहिलो चरणमा हेटौंडा–११ स्थित रहेको ऐलानी जग्गा नापी कार्य सम्पन्न गर्न आदेश पत्र पठाइएको नापी टोली प्रमुख आशिष डोटेलले जानकारी दिए । हालसम्म वडाका ४० घरधुरीको नापजाँच गरिएको छ ।