बागमती प्रदेशसभाको आज बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा सांसद्हरुले दलगत रुपमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा व्यक्त गर्ने कार्य सूचि रहेको छ । गत जेठ १६ गते बसेको प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
प्रदेशसभामा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलगायतका विषयलाई प्राथमिकतामा राखेको पाइएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने, प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरूमा ‘एक विद्यालय, एक नर्स’, उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।
यस्तै, प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रङ्गशाला निर्माण गर्ने, पशु बीमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गर्ने, चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने, हेटौंडा अस्पताललाई २०० बेड क्षमतामा विस्तार तथा धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेटौंडा अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने जस्ता कार्यक्रमहरू अघि सारेको छ ।
त्यस्तै, सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गरी आफ्नै स्वामित्वमा अस्पताल निर्माण गर्ने, प्रदेशमा सुरुङ मार्गको निर्माणका लागि अध्ययन कार्य गर्ने, प्रदेश चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन जस्ता योजनाहरू पनि अघि सारेको छ ।
प्रदेश सरकारले ल्याएको उक्त नीति तथा कार्यक्रमप्रति सत्तारुढ गठबन्धन दलका सांसदहरू उत्साहित देखिएका छन् । उनीहरुले सरकारले जनताप्रति उत्तरदायी भएर योजनाहरू ल्याएको बताएका छन् । यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित प्रतिपक्ष दलका नेताहरूले सरकारको नीति तथा कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रम जनहितकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
