गणतन्त्र र संविधान रक्षाका लागि नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी दिनमा गणतन्त्र र संविधान रक्षाका लागि नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको बताएका छन् । आइतबार १५ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको विशेष कार्यक्रममा गणतन्त्र संरक्षण र संस्थागत गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।
उनले भने, ‘क्रान्तिपछि ३ वटा काम हुन्छ । पहिलो पुरानो संरचना बदलिन्छ । दोस्रो पुरानो संविधान च्यातिन्छ । तेस्रो भनेको राजनीतिक, आर्थिक सामाजिक अवस्थाको परिवर्तन हो । हामीले सबै काम गर्यौ तर, आर्थिक सामाजिक अवस्था बदल्न सकेनौ ।’
उनले गणतन्त्र स्थापना पश्चात बनेको सरकारहरुले जनताको आर्थिक सामाजिक अवस्थालाई परिवर्तन गर्न नसकेको बताए । उनले नेतृत्वकर्ताबाटै गणतन्त्र मास्ने काम भएको बताए । गणतन्त्र स्थापनाका लागि जिउ ज्यान दाउमा राखेका कयौं व्यक्तिहरु अझै पनि अपाङ्ग र शरीरमा गोली बोकेर बाँच्न बाध्य हुनुपर्ने अवस्था रहेको बताउदै उनीहरुको सुरक्षा आज पनि आवश्यक रहेको उनको भनाई छ ।
विगतमा गणतन्त्र ल्याउन काम गरेका शक्तिहरु एक व्यक्तिको घमन्डका कारण विभाजित भएका कारणले गर्दा स्पष्ट बहुमतसहितको सरकार लामोसमय टिक्न नसकेको उनको आरोप छ ।
