राप्रपा नेपालले सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १०:४१
file-photo

मकवानपुर । कमल थापा नेतृत्वको राप्रपा नेपालले देशभरको सबै प्रदेशमा अन्तरक्रिया र भेला कार्यक्रमको आयोजना गर्ने भएको छ । केही दिनअघि काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम उक्त कार्यक्रम आयोजना गर्न लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत “वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा, वर्ग, क्षेत्र, समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रियाका साथै सबै प्रदेशमा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशक्षिण कार्यक्रम गर्न लागिएको महामन्त्री बर्तौलाले जानकारी दिए ।

उनका अनुसार, पहिलो चरणमा यही जेठ १८ र १९ गते बागमती प्रदेशको हेटौंडामा, २१ र २२ गते १ नम्वर प्रदेशको विराटनगरमा, २३ र २४ गते मधेस प्रदेशको जनकपुरमा, २५ र २६ गते लुम्बिनीको बुटवलमा र २७ र २८ गते गण्डकीको पोखरामा पार्टीका अध्यक्ष कमल थापाको सहभागितामा उक्त कार्यक्रम हुनेछ । बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति पनि चाँडै नै घोषणा गर्ने उनले बताए ।