मकवानपुरका तीन जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार १८:५१

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय निक्मा लामा, हेटौडा–१० घर भई हाल हेटौंडा–८ बस्ने ३१ वर्षीय राजेश बिक र मकवानपुरढी गाउँपालिका वडा नम्वर ७ घर भई हाल हेटौंडा–५ बस्ने २६ वर्षीय मानवीर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न मितिमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, हेटौंडा–१३ का निक्मा लामालाई लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुफिन १ एम्पुल गरी ३ एम्पुललाई १ सेट बनाई राखेको अवस्थामा ११ सेटमा ३३ एम्पुल डाईजेपामसहित बुधबार पक्राउ गरेको हो ।

यस्तै, बिहीबार बिहान १० बजेर ४० मिनेटको समयमा हेटौंडा–४ स्कुलरोडमा पैदल हिडिरहेका हेटौंडा–१० बस्ने राजेश बिक र हेटौंडा–५ बस्ने मानवीर थिङको साथबाट लागूऔषध वनरेक्स २६ बोतल बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त लागूऔषधसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।