निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

तु खबर संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार १८:०१

काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न परमादेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता रञ्जु हजुर पाँडे लगायतले दायर गरेको रिट बिहीबार पाँच सदस्यीय बृहत पूर्ण इजलासमा परेको थियो । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निवेदककै पक्षमा रिट जारी गर्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन परमादेश जारी गर्दै आवश्यक भए अर्को विकल्प खोज्न भनेको हो ।

सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन बदर, उक्त प्रतिवेदन स्वीकृत गर्ने वन तथा वातावरण मन्त्रालयको निर्णय बदर गर्ने फैसला गरेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।