नीति तथा कार्यक्रम : आगामी २ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासको समाधान गरिने

तु खबर संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:१९
file-photo

काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोवासलाई समाधान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै सो कुरा बताएकी हुन् ।

विपन्न परिवारलाई संरक्षण गरेर गरिबीको दुष्चक्रबाट बाहिर ल्याउने नीति अख्तियार गरिने भएको छ । बाँकी भएका मुत्त कमैया, हलिया, कमलरी र हरुवा चरुवा मुक्त गर्न तीन तहका सरकारले समन्वय गरेर उत्पादन र रोजगारी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

यस्तै, सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनसंरचना गरिने भएको छ । कृषिमा सुचना प्रविधिलाई अगाडि बढाउने कुरामा जोड दिँदै कृषि वीमालाई अगाडि बढाउन पनि सरकारले जोड दिइने भनिएको छ ।

कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण, आधुनिकीकरण गरी आर्थिक वृद्धि दर बढाइने उल्लेख गर्दै उनले कृषि तथा वनको उत्पादनमा जोड दिइने बताइन् । धान, गहुँ, मकै लगायतका बालीमा उत्पादन वृद्धि गर्नका लागि विशेष कार्यक्रम ल्याइने उल्लेख गर्दै बाँझो जग्गालाई संरक्षण गरी उत्पादनमा वृद्धि गरिने उल्लेख छ ।

रासायनिक मलको अभाव कम गर्नका लागि प्राङ्गारिक मलको प्रयोग र उत्पादनमा जोड दिनका लागि अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।