निर्वाचन आयोगसँग चुनाव चिन्ह्र ‘गाई’ माग्ने राप्रपा नेपालको निर्णय
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगसँग पुरानै ‘गाई’ चुनाव चिन्ह माग गर्ने निर्णय गरेको छ । राप्रपा नेपालको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगसँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह्र माग गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता सुरेश आचार्यका अनुसार, बैठकले हिन्दू राष्ट्र पुनस्र्थापनार्थ जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले राप्रपा नेपालको ‘तीर’ सहितको झण्डा सगरमाथाको शिखरमा फहराउने साहसी पर्वतारोही पासाङ शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री एवम् संसदीय दलका नेता स्व चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैंया नगद सहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी स्थापनाको छोटो समयमा नै स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट खडा हुने उम्मेदवारहरू लगायत राप्रपा नेपालप्रति सद्भाव देखाएर मतदान गर्ने सबै मतदाताहरूलाई धन्यवाद व्यक्त गरेको छ ।
