मकवानपुरको ४४ वटा वडामा कांग्रेसको जित

तु खबर संवाददाता
२०७९ जेष्ठ ८, आईतवार १०:२६

मकवानपुर । मकवानपुरको १०२ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसले जित हाँसिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार, गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ अन्तरगत कांग्रेसले मकवानपुरको ४४ वटा वडामा जित हाँसिल गरेको हो ।

कांग्रेसले जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ८ वटा, थाहानगरपालिकामा ३ वटा, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा ३/३ वटा, कैलाश र बकैयाँ गाउँपालिकामा ५ वटा, मनहरी र मकवानपुरगढी गाउँपालिकामा ६/६ वटा, राक्सिराङ गाउँपालिकामा ४ वटा, बागमती गाउँपालिकामा १ वटा वडामा जित हाँसिल गरेको हो ।

यस्तै, नेकपा एमालेले ३३ वटा वडामा जित हाँसिल गरेको छ । एमालेले हेटौंडामा ९ वटा, भीमफेदी गाउँपालिकामा ५ वटा, थाहानगरपालिका, कैलाश, मनहरी, राक्सिराङ, बागमती र बकैया गाउँपालिकामा ३/३ वटा वडा, इन्द्रसरोवर र मकवानपुरगढी गाउँपालिकामा २/२ वटा वडामा जित हासिल गरेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले जिल्लाको २४ वटा वडामा जित हाँसिल गरेको छ । माओवादीले थाहानगरपालिकामा ६ वटा, बागमती गाउँपालिकामा ५ वटा, बकैया गाउँपालिकामा ४ वटा, मनहरी गाउँपालिकामा ३ वटा, कैलाश र राक्सिराङ गाउँपालिकामा २/२ वटा, हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकामा १/१ वटा वडामा जित हाँसिल गरेको छ । जिल्लामा नेकपा एकीकृत समाजवादी पार्टीले भने १ वटा वडामा मात्रै जित हाँसिल गरेको छ । एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा जित हाँसिल गरेको हो ।

मकवानपुरमा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुनै पनि वडामा जित हाँसिल गर्न सकेन । यद्यपी लामो समय नेकपा एमालेको लालकिल्लाको रुपमा रहेको मकवानपुरमा कांग्रेस पहिलो पार्टीको रुपमा रहेको छ । यसैगरी, एमाले दोस्रो, माओवादी तेस्रो, एकीकृत समाजवादी चौथो पार्टीको रुपमा चिनिएको छ ।