गठबन्धनकी लामालाई मतगणनास्थलमै पुगेर अनन्तले दिए बधाई

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १६:४४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदका  उम्मेदवार नेकपा एमालेका अनन्त प्रसाद पौडेलले गठबन्धनकी उम्मेदवार मीना कुमारी लामालाई बधाई दिएका छन् । मेयर पदमा जित सुनिश्चित देखिएपछि पौडेलले शुक्रबार हेटौंडा–२ सिद्धार्थ माविस्थित मत गणना स्थलमै पुगेर लामालाई खादा लगाई बधाई दिएका हुन् ।

पौडेलले लामालाई बधाई दिँदै आगामी दिनमा हेटौंडाको विकास गर्नका लागि आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यद्यपी, हेटौंडा उपमहानगरपालिकाको मतगणना भने सम्पन्न भइसकेको छैन ।

हेटौंडा उपमहानगरपालिकामा कूल १ लाख ४ हजार ४७३ मतदाता रहेकोमा ७३ हजार ४१४ जनाले मतदान गरेका थिए । तीमध्ये हालसम्म ६९ हजार ६९६ मत गणना हुँदा मेयर पदमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले सबैभन्दा धेरै मत प्राप्त गरेकी छिन् । लामाले २१ हजार ९९३ मत प्राप्त गरेकी हुन् ।

यस्तै, मेयर पदमा उम्मदेवारी दिएका नेकपा एमालेका अनन्त पौडेललाई १९ हजार ९१६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंहलाई १९ हजार ३९३ मत प्राप्त भएको छ । हालसम्म वडा नम्वर १,२,३,४,५,६,७,८, १४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्वर ९, १०, ११, १२ र १३ को मतगणना जारी रहेको छ ।