हेटौंडा उपमहानगरपालिका: १,२,१८ र १९ नम्वर वडाको एकैपटक मतगणना सुरु

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार ०८:३२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना शनिवार विहानबाट सुरु भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको भएपनि केही समय ढिलो गरी मतगणना सुरु भएको हो ।
मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले दिएको जानकारी अनुसार हेटौंडाको वडा नम्वर १, २, १८ र १९ को मतगणना एकै पटक सुरु गरिएको छ ।

मतगणनास्थलमा सुरक्षा व्यवस्थाको लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्येनजगर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ । हेटौंडामा कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेकोमा ७३ हजार ४ सय १४ जनाले मतदान गरेका छन् ।