मतदान गर्न जाँदै हुनुहुन्छ ?, यस्ता छन् मतदाताले पालना गर्नुपर्ने नियमहरु

तु खबर संवाददाता
२०७९ बैशाख ३०,शुक्रबार ०७:५०

मकवानपुर । देशभरका स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म संचालन हुने निर्वाचन आयोगले जनाएको छ । मकवानपुरमा पनि हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा मतदान प्रारभ्भ भइसकेको छ ।

निर्वाचन आयोगले मतदान प्रक्रियामा सहभागी हुन जाने मतदाताहरुलाई सचेत गराएको छ । मतदान केन्द्रमा मतदाता, सुरक्षाकर्मी, उम्मेदवार वा उम्मेदवारको एक जना प्रतिनिधि, निर्वाचन आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, निर्वाचन आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मतदान केन्द्रमा जान पाउने व्यवस्था गरिएको छ । तर मतदान केन्द्रमा मादक पदार्थ सेवन गरेर जान भने पाइँदैन ।

आयोगले मतदान केन्द्रमा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री लैजान, सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ वा कुनै प्रकारको हातहतियार लैजान निषेध गरेको छ । नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु पनि लैजान नपाइने जनाइएको छ ।