हेटौंडामा भोट हाल्न मतदाताहरु बिहानैदेखि लाइनमा
मकवानपुर । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदान बिहान ७ बजेदेखि मात्रै प्रारम्भ हुने भनिए पनि मतदाताहरु त्यसअघि देखि नै लाइनमा बसिरहेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरु विहान ५ बजेदेखि नै लाइनमा बसेको पाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहानको समयमा मौसम सफा देखिएकाले यही मौकामा छिटै मतदान सक्ने र नियमित काममा फर्किनका लागि छिट्टै आएर लाइनमा बसेको मतदाताहरुले बताएका छन् ।
निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आयोगले जिल्लाको १ सय ६५ मतदान स्थलमा २ हजार ८ सय ३८ जना कर्मचारी खटाएको छ । जसमा १ हजार ७७० जनालाई आयोगले खटाएको हो भने १ हजार ६८ जना स्वयम् सेवकको रुपमा खटाइएको छ ।
निर्वाचन सुरक्षाका लागि सरकारले जिल्लाभरमा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको जनाइएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
