नयाँ मतदातालाई आज पनि परिचयपत्र वितरण गरिँदै

तु खबर संवाददाता
२०७९ बैशाख २९,बिहीबार ०८:०१

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज पनि नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्न थालिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी पनि दिइरहेको छ । देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन् । वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न शुक्रबार हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले आग्रह गरेको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।